बाराको पर्यटन विकासमा ध्यान दिन सांसद श्रेष्ठले गरे आग्रह

बारा, असोज १ गते ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एवं पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराको गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधी सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मन्दिरमा चढ्ने बली प्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न समेत सरकारलाई अनुरोध गरे ।

चुरेको काखदेखि भारतको सीमासम्म अथाह पर्यटकीय सम्भावना बोकेको बारा जिल्लाको पर्यटन विकासमा ध्यान दिन सरकारलाई अनुरोध गर्दै सांसद श्रेष्ठले बाराको गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको दीर्घकालीन विकासमार्फत भारतीय पर्यटक लक्षित कार्यक्रम बनाउन समेत आग्रह गरे ।

नेकपा एकिकृत समाजवादीका युवा नेता समेत रहेका श्रेष्ठले बाराका महत्वपूर्ण विषयहरु संसदमा उठाउने गरेको र सोमबार गढीमाई मेला र बारा जिल्लाको पर्यटनलाई उठान गरिदिएको भन्दै बाराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

बाराका पर्यटन अभियन्ता एवं नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट एशोसिएसन नाट्टाका मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले बारा जिल्लाको महत्वपूर्ण विषय संसदमा प्रवेश गराएको भन्दै सांसद श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

यस्तो छ सांसद श्रेष्ठले संसदमा राखेको भनाई
म आज समग्र बारा जिल्लाको प्रतिनिधित्व गर्दै यस सम्मानित सदनबाट बाराको महागढिमाई नगरपालिकामा अवस्थित गढिमाई मन्दीरमा यस बर्ष मंसिर महिनामा लाग्न गइरहेको पन्चबर्षीय गढिमाई मेलाको ब्यवस्थापनका बिषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

नेपाल देशको मात्रै नभई एशिया महादेशकै ठूलो मेलाको रूपमा रहेको र संसारमै धेरै बली चढ्ने यस मन्दिरको मेलालाई सरकारले ध्यान दिएर उचित ब्यवस्थापन र अन्तर्राष्ट्रिय समुदायमा प्रचारप्रसार गर्न सके मेलाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा बारा जिल्लाको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने थियो र बाराको पर्यटन ब्यवसाय चलायमान बन्न सक्ने आधारशिला बन्ने थियो । नेपाल सरकारले बारा जिल्लामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज, एतिहासिक सिम्रौनगढ क्षेत्र, कर्म कुमारी धारा लगायतका पुर्वाधार हरुको संरक्षण र बिकासमा समेत ध्यान दिन जरुरी छ । यसैबर्ष गढिमाई मेलाको अवसर पारेर म नेपाल सरकार, सातै प्रदेशका प्रदेश सरकार, ७५३ वटै स्थानीय सरकार र यस संसदमा रहेका संघीय सांसदहरुलाई बारा जिल्ला भ्रमण र गढिमाई मन्दिर दर्शनको चुले निम्तो समेत दिन चाहन्छु ।

सम्माननीय सभामुख महोदय जब जब बारा जिल्लाको गढिमाई मेलाको समय आउँछ तब तब बिदेशीको इशारामा हिन्दु धर्ममाथि प्रहार गर्ने नियत बोकेका समूह हरु सलबलाउन थालेको देख्ने गरेको छु । के नेपालमा बली चढाईने मन्दिर बारा जिल्लाको गढिमाई मात्रै हो त ? गढिमाईको बली प्रथाको बिरोधमा कसैलाई कुनै गतिविधि गर्ने छुट नदिईयोस यसले बारा बासी र समग्र गढिमाईको आस्था माथी प्रहार गरिरहेको छ ।

चुरेको फेदि देखि भारतको सिमासम्म अथाह पर्यटकीय सम्भावना बोकेको बारा जिल्लामा पर्यटकीय लगानी बढाउन सके विशेषगरि भारतीय पर्यटकको उपस्थिति बढ्न सक्ने र त्यसले देशकै पर्यटन बिकासमा योगदान गर्न सक्ने भएकाले म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छु ।