बाराको निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बारा, चैत १८-

बाराको निजगढमा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ निवासी २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेका अनुसार, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४२ प ९८२४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००४ प ३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।

प्रहरीले दिएको जानकारीअनुसार, ९८२४ नम्बरको मोटरसाइकल वैभव ढुंगानाले चलाइरहेका थिए भने ३६६१ नम्बरको मोटरसाइकल सुरेश श्रेष्ठले चलाइरहेका थिए।