बारा, वैशाख ३ गते ।
मधेस प्रदेशमा ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने सवारी चालकविरुद्ध कडा कदम चाल्दै चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन प्रक्रिया सुरु गरिएको छ। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि अभियान थालनी गरेको हो।
कार्यालयका अनुसार पहिलो चरणमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने आठ जना चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था कार्यालय वीरगन्जलाई सिफारिस गरिएको छ। ती चालकहरू ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टीभीआरएस) मार्फत पहिचान गरिएको हो।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० बमोजिम यस्तो कारबाही गर्न सकिन्छ। ऐनअनुसार पाँच पटकभन्दा बढी उल्लंघन प्रमाणित भएमा सम्बन्धित अधिकारीले लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सक्छ।
मधेस प्रदेशमा पहिलो पटक यस्तो प्रक्रिया सुरु गरिएको हो। ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतले यसले चालकलाई जिम्मेवार र जवाफदेही बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार बारम्बार नियम उल्लंघन गर्ने चालक नियन्त्रणमा ल्याउन यो प्रभावकारी हुने र यसबाट सडक दुर्घटना तथा जनधनको क्षति न्यूनिकरण हुने अपेक्षा गरिएको छ।
बस्नेतले प्रदेशका आठै जिल्लामा टीभीआरएसमार्फत उल्लंघन गर्ने चालक पहिचान गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइएको ‘इशिलालेख’लाई जानकारी दिए।




