सिमरा, २८ गते —
मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा भारतीय पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित तीनदिने ‘मधेस ट्राभल मार्ट–२०२६’ शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल–भारतबीचको पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै मधेसका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गर्नेछ। कार्यक्रमबारे जानकारी दिन बिहीबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले ट्राभल मार्टले मधेस प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कार्यक्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, होटल व्यवसायी तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ। भारतका पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकाताबाट पर्यटन व्यवसायीहरू सहभागी हुन लागेको उनले जानकारी दिए।
अध्यक्ष लामिछानेले भारतीय पर्यटन व्यवसायीहरूलाई मधेस प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष अवलोकन गराउँदै यहाँको पर्यटन सम्भावनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “भारतीय पर्यटक नेपालको पर्यटन बजारका महत्वपूर्ण हिस्सा हुन्। उनीहरूलाई मधेसका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदासँग प्रत्यक्ष परिचित गराउन सके पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्छ,” उनले भने।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेस प्रदेशमा पर्यटन विकासका लागि पर्याप्त सम्भावना भए पनि त्यसको प्रभावकारी प्रचार–प्रसार हुन नसकेको उल्लेख गरे। उनले अमलेखगञ्ज क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए।
वडा नम्बर २१ का अध्यक्ष सुवास श्रेष्ठले अमलेखगञ्ज प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकाले यहाँ पर्यटन विकासको ठूलो सम्भावना रहेको बताए। उनले यस्ता कार्यक्रमले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
नाटाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कार्यक्रम वीरगञ्जबाट सुरु भई जनकपुरधाममा सम्पन्न हुनेछ। भारतीय प्रतिनिधिमण्डल बिहीबार साँझ रक्सौल नाका हुँदै वीरगञ्ज आइपुग्नेछ। शुक्रबार बिहान वीरगञ्जस्थित होटल सरोवरमा कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ। उद्घाटनअघि सहभागीहरूलाई प्रसिद्ध महागढीमाई मन्दिरको दर्शन गराइने कार्यक्रम तय गरिएको छ।
उद्घाटन सत्रपछि टोली सिमरा पुगेर होटल क्लासिक प्लाजामा आयोजना हुने पर्यटन प्रवर्द्धन केन्द्रित अन्तरक्रिया तथा व्यवसायिक छलफल कार्यक्रममा सहभागी हुनेछ। कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायीबीच सहकार्य विस्तार, पर्यटन प्याकेज विकास तथा पर्यटक आदान–प्रदानका सम्भावनाबारे छलफल हुने जनाइएको छ।
शनिबार सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुटको अवलोकन गराइनेछ भने पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारीको अनुभव पनि प्रदान गरिनेछ। त्यसपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ।
जनकपुरधाममा मिथिला आर्ट ग्यालरी अवलोकन, विश्वप्रसिद्ध जानकी मन्दिर दर्शन तथा गंगा आरतीमा सहभागिता गराइनेछ। यसमार्फत मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई भारतीय पर्यटन बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्तिम दिन जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिनेछ। ट्राभल मार्ट सफल बनाउन पर्सा राष्ट्रिय निकुञ्ज तथा होटल तथा पर्यटन व्यवसायी संघ बाराले समेत सहकार्य गरेका छन्।
होटल सिमरा इनमा आयोजित पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी अधिकृत सीमा यादव, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, उपाध्यक्ष गोविन्द गहतराजलगायत पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आयोजकहरूको विश्वास छ कि ‘मधेस ट्राभल मार्ट–२०२६’ ले मधेस प्रदेशलाई भारतका प्रमुख पर्यटन बजारसँग जोड्दै क्षेत्रीय पर्यटन विकास, लगानी प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।






