अमलेखगञ्जको श्री ने.रा.मा.विमा AI, IT तथा स्मार्टबोर्डसम्बन्धी तालिम सम्पन्न, स्मार्टबोर्ड हस्तान्तरण

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा AI, IT तथा स्मार्टबोर्ड सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिमको समापनसँगै विद्यालयलाई स्मार्टबोर्डसमेत हस्तान्तरण गरिएको हो।

विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा कृत्रिम बुद्धिमत्ता (AI), सूचना प्रविधि (IT) तथा स्मार्टबोर्डको सञ्चालन र प्रयोगसम्बन्धी प्रशिक्षण दिइएको थियो।

तालिम समापन तथा स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडा अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रोहित बहादुर घिसिङ तामाङले स्वागत मन्तव्य राखेका थिए। उनले आधुनिक प्रविधिको प्रयोगले शिक्षण सिकाइलाई थप प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिममार्फत शिक्षक तथा सहभागीहरूलाई AI, IT र स्मार्टबोर्डको प्रभावकारी प्रयोग तथा सञ्चालनसम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरिएको बताइएको छ।

विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरण भएसँगै कक्षाकोठामा प्रविधिको प्रयोगलाई थप विस्तार गर्दै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक माधव नेपालले गरेका थिए। जीतपुरसिमरा–२१, अमलेखगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न यस कार्यक्रमले विद्यालयको शैक्षिक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।