मुआब्जा नपाएको भन्दै ड्राइपोर्ट भन्सारको गेटमै स्थानीयको धर्ना

वीरगञ्ज, असोज २० —

सुख्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) क्षेत्रको जग्गा तथा घरको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले ड्राइपोर्ट भन्सारको गेटमै धर्ना दिएका छन्। मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले सोमबारदेखि ड्राइपोर्ट भन्सारको मुख्य गेटमा धर्ना सुरु गरेका हुन्।

करिब ११ वर्षअघि सरकारले ड्राइपोर्ट क्षेत्रका लागि आवश्यक जग्गा रोक्का गर्दै आफ्नो मातहतमा लिएको थियो। त्यस क्रममा सरकारले लालपुर्जा भएका जग्गाको मुआब्जा वितरण गरे पनि सोही जग्गामा रहेका घर तथा संरचनाको भने मुआब्जा नदिएको स्थानीयवासीको भनाइ छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा लालपुर्जा नभए पनि फिल्डबुकमा नाम कायम रहेको जग्गाको समेत मुआब्जा वितरण गरिएको छैन। घर तथा फिल्डबुकमा नाम भएका जग्गाको मुआब्जा नपाएपछि उनीहरू ड्राइपोर्ट भन्सारको गेटमै धर्नामा बसेका हुन्।

स्थानीयवासीले घर तथा फिल्डबुकमा नाम कायम रहेका जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले पटक–पटक मुआब्जा वितरण गर्ने प्रतिबद्धता जनाउँदै आए पनि करिब एक दशकदेखि आफूहरूले मुआब्जा पाउन नसकेको उनीहरूको गुनासो छ।