काठमाडौं, कात्तिक २ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लागेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार देशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्नेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।






