जीतपुरसिमरा गोल्ड कप चैत्र ३१ बाट शुरु हुदै, डे–नाईट खेल हुने

सिमरा गोल्डकपको एघारौं संस्करण चैत ३१ गतेदेखी सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले आज बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत्र ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।

दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको सबै तयारी करिब सकिएकाले चैत अन्तिमदेखि सुरु गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताउनु भएको छ । सिमरा रंगशालामा हुने यो प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, र मोफसलका ६ गरी १२ टिमको सहभागीता रहने छ ।

जीतपुरसिमरा गोल्ड कप यस वर्ष साँझका समयमा सञ्चालन हुने छ , त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् । पुरस्कार राशीमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । २०७५ माघमा सञ्चालन भएको दशौँ संस्करणका विजेताले ६ लाख र उपविजेताले तीन लाख प्राप्त गरेका थिए । गत वर्ष भने कोरोना भाईरसको महामारीका कारण प्रतियोगीता स्थगित भएको थियो ।

आयोकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने छन् । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिडफिल्ड , हाई स्कोरर , फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भु सिंह ठकुरीले जानकारी दिनुभयो । करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ ।