११औँ जीतपुरसिमरा गोल्ड कप २०७७ मा आज बिहिबार भएको खेलमा बागमती युथ क्लब सर्लाही विजयी भएको छ । भरतपुर एफ.सि. चितवनलाई सडेन डेथमा पराजीत गर्दै बागमती युथ क्लबले जित हाँत पारेको हो ।
खेलको निर्धारित ९० औँ मिनेटमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलमा अतिरिक्त ३० मिनेटको समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि कुनै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा पनि दुबै टिम बराबर स्कोर गरे पछि खेल सडेन डेथमा गएको थियो । सडेन डेथमा सर्लाहीको बागमती युथ क्लबद्धारा भरतपुर एफ.सि चितवन पराजीत भएको थियो ।
नव जनजागृती युवा क्लब सिमराले आयोजना गरेको ११औँ जीतपुरसिमरा गोल्ड कप २०७७ साँझका समयमा सञ्चालन भइरहेको छ , त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको छ ।
आजको खेलमा म्यान अफ दी म्याच बागमती युथ क्लबका गोल्रक्षक अरुण भ्लोन भएका थिए । म्यान अफ दी म्याच भएका भ्लोनलाई ५००० रुपैया प्रदान गरिएको थियो । फाईनलमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने छ । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिडफिल्ड , हाई स्कोरर , फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ ।
करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा भोलि शुक्रबार विजय युथ क्लब हेटौँडा र सुदुरपश्चिम ११ बाच खेल हुने आयोजकले जनाएको छ । भोलि खेल साँझ ५ बजे शुरु हुने छ ।




