जीतपुरमा सर्वदलीय बैठक सम्पन्न, सरसफाइलाई प्राथमिकता

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सर्वदलीय बैठक सम्पन्न भएको छ । जीतपुरको विकासको सन्दर्भमा जीतपुर स्थित रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालयमा बैठक सम्पन्न भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा जीतपुरको समग्र विकास र मुख्यत सरसफाइको विषयमा बहस भएको थियो ।

कार्यक्रममा स्थानियहरूले आफ्नो गुनासो वडा अध्यक्ष सुनिल कुमार गुप्ता समक्ष राखेका थिए भने स्थानियको गुनासोलाई अध्यक्ष गुप्ताले समाधान गर्न आफु आजैबाट लाग्ने प्रतिबद्धता गर्नुभएको छ ।

कार्यक्रममा जीतपुरको मुख्य बजारलाई व्यवस्थित गर्ने, सरसफाइ नियमित गर्ने, फुटपाथ पसलेहरूलाई राम्रो ठाउँमा व्यवस्थित गर्ने, माछा र मासु व्यवसायीहरूलाई व्यवस्थित गर्ने, जीतपुरको सरकारी सटरको व्यवस्थापन, शौचालय र निशुल्क खानेपानीको व्यवस्थापन लगायतका विषयहरूमा छलफल भएको थियो ।

वडा सदस्यहरूको समेत उपस्थितिमा नगर उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न भएको सर्वदलीय बैठकमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, वाणिज्य संघका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाज सेवी, प्रशासन र स्थानीयहरूको उपस्थिति रहेको थियो ।