- रौतहट २ भदौ ।
रौतहटमा आज बिहिवार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा बसले अटो रिक्सालाई ठक्कर दिएको हो ।
काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२०१ नम्बरको बसले चन्द्रपुर स्थित पूर्वपश्चिम राजमार्गको लच्कामा सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
दुर्घटना भएको अटोमा ४ जना सवार थिए । अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही वडा नम्बर २ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताउनु भएको छ ।




