एस.एस. पटेल, बारा ।
प्रतिबन्धित घरेलु मदिरा बोकेको गाडीले प्रहरीलाई छलेर भाग्न खोज्दा एक मोटरसाइकललाई ठक्कर दिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा प्रहरीलाई छलेर भाग्न खोज्दा मोटरसाइकललाई ठोक्दा ४ जना घाईते भएका छन् ।
वडा नम्बर ७ जीतपुरको वडा कार्यालय अगाडि ९०० लिटर अबैध मदिरा बोकेर जीतपुरसिमराको अमलेखगञ्जबाट विरगञ्ज तर्फ जादै गरेको ना. ५ च ३५८६ नम्बरको रातो प्लेटको म्याजिक भ्यानले वाग्मती प्रदेश ०३-००२ प ३९२५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरूष र म्याजिकमा सवार दुई जना महिला घाइते भएका छन् । मोटरसाइकल सवार विरगञ्ज-३२ घर भएका दिपेन्द्र पास्वान र बलराम रहेका छन् भने मदिरा बोकेको म्याजिकमा सवार दुई महिला घाइते भएका छन् । महिलाहरूको पहिचान भने खुलेको छैन ।
घाइते भएका मोटरसाइकल सवार दुबैजनाको विरगञ्ज स्थित अस्पतालमा उपचार भैरहेको छ । एकजना टाेउको र हातमा गम्भीर चोट लागेको छ भने एकजनाको खुट्टा चोट लागेको छ ।
प्रतिबन्धित मदिरा बोकेको गाडीको चालक जीतपुरसिमरा १ घर भएका अन्दाजी ३२ वर्षका ओम प्रसाद बेद्वाल प्रहरी हिरासतमा छन् । उनलाई ईलाका प्रहरी कार्यालय जीतपुरबाट ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको ई.प्र.का जीतपुरका प्रमुख अजय रामले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख रामका अनुसार गाडीमा मदिरा बोकेर प्रहरीलाई छलेर द्रुतगतिमा भाग्न खोजना अचानक मोटरसाइकलमा ठोकिएको हो ।




