- एस.एस. पटेल, बारा ।
बाराबाट हात्तीको दारा सहित तीन जना पक्राउ परेका छन् । जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगंज स्थित २ नम्बर पुल नजिकबाट प्रहरीले हात्तीको दारा सहित ३ जनालाई पक्राउ गरेको हो ।
हिजो सोमबार साझ करिव ६:३० बजेको समयमा विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट प्रहरी नायब निरीक्षक सागर राणाको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५० प १२२७ नम्बर को मोटरसाईकललाई चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार निजगढ नगरपालिका वडा न.११ रतनपुरका ३४ वर्षिय सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो र १ फिट गोलाई भएको ८ किलो ४४० ग्राम वजनको हात्तीको दारा फेला परेको ईलाका प्रहरी कार्यालय अम्लेखगंजले जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल पछाडि सवार सुर्य प्रसाद तामाङ सहित बाराको निजगढ नगरपालिका वडा न.११ रतनपुरकै ३५ वर्षिय दिल बहादुर घलान र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा न.१३ पदमपोखरीका ३५ वर्षिय सुवास तामाङ रहेका छन् ।
हात्तीको दारा सहित पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाईएको ईलाका प्रहरी कार्यालय अम्लेखगंजका प्रमुख प्रहरी नायब निरीक्षक सागर रानाले बताउनु भयो ।




