उपद्रो गरेको आरोपमा जितपुरसिमरा ७का वडाध्यक्ष पक्राउ

बारा, चैत ४ गते ।

उपद्र मुद्दामा बाराको जितपुरसिमराका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष गुप्ता शुक्रबार होलीको राति आफ्ना समर्थकसहित स्थानीय समाजसेवी परशुराम गिरीको घरमा गई घरमा ढुंगामुढा गर्नुका साथै गिरीको परिवारका सदस्यलाई कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुप्ता नेतृत्वमा गएको समूहले आक्रमण गरेपछि परशुराम गिरीले आत्मरक्षाका लागि इजाजत प्राप्त बन्दुक निकालेर एक राउन्ड हवाई फायर गरेका थिए।

घटनापछि बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो। बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार, उनलाई उपद्र मुद्दा अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको छ। प्रहरीले यो घटनाको विस्तृत छानबिन गरिरहेको उनले बताएका छन् ।