सिरहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो, एक घाइते

सिरहा, फागुन १८ – सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पूर्वतर्फ गइरहेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको ज्यान गएको हो। उनीहरू सवार मोटरसाइकलमै रहेका १७ वर्षीय धिरज मण्डल घाइते भएका छन्। उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।