हेटौंडा, चैत २०-
मकवानपुरमा एसईई परीक्षा दिन नक्कली परीक्षार्थी बनेर आएका एक युवक पक्राउ परेका छन्। हेटौंडा–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिइरहेका सिन्धुली मरिण गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ बस्दै आएका १८ वर्षीय बिराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिकले अर्काको नाममा जारी प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका थिए। उनले हेटौंडा–१२ पदमपोखरीका अंकिश श्रेष्ठका १९ वर्षीय छोराको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




