विरगञ्जका पत्रकार मिथुन सर्राफमाथि ज्यान मार्ने उद्योग प्रकरणमा नयाँ मोड: अदालतको आदेशपछि एक पक्राउ, पाँच अझै फरार

वीरगन्ज । सञ्चारकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाले फेरि एकपटक प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको विषयलाई गम्भीर रूपमा उठाएको छ। एस.टि.पि खबरका सञ्चारकर्मी मिथुन सर्राफमाथि ज्यान मार्ने नियतले गरिएको आक्रमण सम्बन्धी मुद्दाले अहिले नयाँ मोड लिएको छ। उच्च अदालत अस्थायी इजलास वीरगन्जको परमादेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले सक्रियता देखाउँदै एक जना अभियुक्तलाई पक्राउ गरेको छ भने अन्य पाँच जना अझै फरार रहेका छन्।

विरगञ्जका पत्रकार मिथुन सर्राफमाथि २०८२ साल कार्तिक १ गते सांघातिक आक्रमण भएको थियो। उक्त घटनापछि पीडित पक्षले सम्बन्धित निकायमा जाहेरी दिए पनि अनुसन्धान प्रक्रिया अपेक्षाकृत सुस्त देखिएको गुनासो गर्दै न्यायका लागि उच्च अदालत अस्थायी इजलास वीरगन्जमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले २०८२ माघ १२ गते ‘रिट परमादेश’ जारी गरेको थियो। अदालतले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन स्पष्ट निर्देशन दिएको थियो। अदालतको आदेशपछि मात्रै प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले जाहेरीमा नाम उल्लेख भएका ६ जना प्रतिवादीमध्ये साहिल सर्राफलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।

तर, यस घटनामा नाम उल्लेख भएका अन्य पाँच जना प्रतिवादी अझै फरार रहेका छन्। पत्रकारजस्तो संवेदनशील र सार्वजनिक चासोको क्षेत्रमा कार्यरत व्यक्तिमाथि ज्यानै लिन सक्ने नियतले आक्रमण भएको आरोप लागेका व्यक्तिहरू अझै खुलेआम फरार रहनु सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाउने विषय बनेको छ।

यस घटनालाई स्थानीय पत्रकार समुदायले सञ्चारकर्मीमाथिको मात्र नभई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण को रूपमा व्याख्या गरेका छन्। कार्यक्षेत्रमै खटिएका पत्रकारमाथि भएको यस्तो गम्भीर प्रकृतिको आक्रमणले पत्रकारहरू सुरक्षित वातावरणमा काम गर्न पाउने संवैधानिक अधिकारमाथि समेत चुनौती खडा गरेको उनीहरूको भनाइ छ।

पत्रकार सम्बद्ध संघ–संस्थाहरूले पक्राउ परेका अभियुक्तमाथि निष्पक्ष र कडाभन्दा कडा कानुनी कारबाही गर्न, साथै फरार रहेका बाँकी पाँच जनालाई यथाशीघ्र पक्राउ गरी न्यायिक दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले पत्रकार सुरक्षालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने र यस्ता घटनामा ढिलासुस्ती नगरी तत्काल कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

स्थानीयस्तरमा पनि यो घटनाले व्यापक चासो पाएको छ। अदालतको आदेशपछि मात्र प्रहरी सक्रिय देखिएको भन्दै कतिपयले सुरुवाती अनुसन्धानप्रति प्रश्न उठाएका छन्। अब बाँकी फरार अभियुक्तहरू कहिले पक्राउ पर्छन् र पीडित पक्षले पूर्ण न्याय कहिले पाउँछ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ।

पत्रकार मिथुन सर्राफमाथि भएको यो आक्रमण प्रकरणले फेरि एकपटक नेपालमा पत्रकार सुरक्षा, कानुनी कार्यान्वयन र प्रेस स्वतन्त्रताको वास्तविक अवस्था माथि गम्भीर बहस सुरु गराएको छ।