बारा- सिमरा भेट्रान क्लबले आफ्नो ५औं साधारणसभा सिमरास्थित होटल विश्वासमा सम्पन्न गरेको छ। साधारणसभाको अवसरमा क्लबले हालै सम्पन्न “नेपीफिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८२” को आय–व्यय विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगितामा विभिन्न शीर्षकमा आम्दानी तथा खर्च गरिएको देखिएको छ। आयतर्फ मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाबाट करिब १६ लाख ५० हजार रुपैयाँ, मुख्य प्रायोजक नेपीफिटबाट ४ लाख, सह-प्रायोजकबाट २ लाख तथा अन्य सहयोगीबाट १२ लाख ५५ हजारभन्दा बढी रकम संकलन भएको उल्लेख छ।
खर्चतर्फ खेल मैदान व्यवस्थापनमा १२ हजार ३००, इन्धन तथा यातायातमा १ लाख ६६ हजारभन्दा बढी, टिम तथा रेफ्री खर्चमा १६ लाख ४६ हजार, टिम व्यवस्थापनमा १ लाख ८ हजार, पुरस्कार तथा शिल्ड–कप–मेडलमा करिब १० लाख ३ हजार तथा टेन्ट र साउण्ड सिस्टममा १ लाख २५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा देखाइएको छ।
यसैगरी अन्य शीर्षकअन्तर्गत अतिथि सत्कार, प्रेस सम्मेलन, प्रचारप्रसार, मसला तथा विविध खर्चसमेत समावेश गरिएको छ। क्लबका पदाधिकारीका अनुसार सम्पूर्ण आय–व्यय पारदर्शी ढंगले सार्वजनिक गरिएको र आगामी दिनमा अझ व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रतियोगिताबाट क्लबले करिब ६१ हजार रुपैयाँ नाफा (खुद नाफा) गरेको विवरणमा उल्लेख छ।




