वीरगंजबाट स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

वीरगंज, साउन २६ ।

पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले मंगलबार राति दुई मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट उक्त रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारका २६ वर्षीय सुरज कर्ण, बाराका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साका राहुलकुमार गुप्ता रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट क्रमशः १ लाख, १८ लाख १६ हजार, १८ लाख ३४ हजार र १६ लाख रुपैयाँ बरामद भएको हो।

नगद तथा दुई मोटरसाइकलसहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।