भोटेकोशी बाढीको प्रभाव : पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं, भदौ ११ — भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित सडकमार्गमा अझै यातायात सञ्चालन हुन सकेको छैन। बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो थुप्रिएपछि सडक अवरुद्ध भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अवरुद्ध सडकमा थुप्रिएको लेदो हटाउने काम जारी रहेको छ। सडक पूर्ण रूपमा सुरक्षित र सञ्चालनयोग्य बनेपछि मात्रै यातायात सञ्चालन गरिने उनले बताए।

नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा समेत बाढीको प्रभाव परेकाले सवारीसाधनको आवागमन प्रभावित भएको जनाइएको छ।

बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने सुरक्षित रूपमा काठमाडौं फर्काइएको छ। बीच बाटोमा जोखिममा पर्न सक्ने अवस्था भएकाले उनीहरूलाई काठमाडौंमै आफन्तको घर वा आफ्नै व्यवस्थापनमा बस्ने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए।

यातायात व्यवसायीसँग पनि ट्राफिक प्रहरीले निरन्तर समन्वय गरिरहेको जनाएको छ। सडकको अवस्था पूर्ण रूपमा बुझेर ट्राफिक प्रहरीबाट जारी हुने आधिकारिक सूचनाका आधारमा मात्रै सवारी सञ्चालन गर्न व्यवसायीहरूले आफ्ना सदस्यलाई निर्देशन दिएका छन्।

यसैबीच, वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ। फर्पिङतर्फका सडकबाट समेत साना सवारीसाधन सञ्चालन भइरहेका छन्। तर ती सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने तथा रुट र अनुमति सम्बन्धी व्यवस्था लागू हुने प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सम्बन्धित निकायसँग समन्वय गरी यातायात सञ्चालनबारे थप निर्णय गरिने जनाएको छ। यात्रु तथा सवारी चालकलाई आधिकारिक सूचना नआएसम्म जोखिमयुक्त सडकमा यात्रा नगर्न समेत आग्रह गरिएको छ।