काठमाडौँ, भदौ १० — रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएको छ।
जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। बाढीबाट थप प्रभावित हुन सक्ने नागरिकलाई समेत सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न वा नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह को निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन तथा अन्य सरोकारवाला निकाय उद्धार तथा खोज कार्यमा परिचालित भएका छन्।
उद्धार तथा राहतका लागि मेडिकल टोलीसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको छ भने निजी हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसैबीच, गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी रहेको छ। बाढीको पछिल्लो अवस्था तथा उद्धार कार्यबारे छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि बोलाएका छन्।






