भोटेकोशी बाढीको ११ औं दिनः १,३४४ शव फेला, पाँच हजार बेपत्ता

भदौ २० — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा ११औँ दिन पनि खोज तथा उद्धार कार्य जारी छ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म बाढीमा परी १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार व्यक्ति अझै बेपत्ता छन्। बेपत्तामध्ये ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको मन्त्रालयले जनाएको छ।

बाढीपछि हालसम्म १३ हजार ९८ जनाको जीवित उद्धार गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै त्रिशूलीका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा बेत्रावतीबाट चार जनाको उद्धार गरिएको छ।

खोजी कार्यमा नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरियालगायतका अन्तर्राष्ट्रिय सुरुङ उद्धार टोली परिचालित छन्। ड्रोन, अत्याधुनिक उपकरण तथा अन्य प्राविधिक सामग्रीको प्रयोग भइरहेको छ।

यस्तै, अस्ट्रेलिया र मलेसियाबाट आएका विशेष उद्धार टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। क्षतिग्रस्त सडक तथा आवागमन सहज बनाउन अस्थायी पुल र तुइन सञ्चालनमा ल्याउने कामसमेत अघि बढाइएको छ।

यसैबीच, चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् भने थप १२७ जना फर्कने क्रममा रहेको मन्त्रालयले जनाएको छ।