जितपुरमा ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

बारा । बाराको जितपुरमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकैको बायाँ सडकको सर्भिस लेनमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा युवक पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनको गोजीबाट कालो प्लास्टिकमा प्याकिङ गरिएको करिब १ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

ब्राउन सुगर फेला परेपछि प्रहरीले कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाएको छ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यालय जीतपुरले लागुऔषध बेचबिखन गर्ने र सेवनकर्तालाई समेत नियन्त्रण गर्न अभियाननै चलाएको देखिन्छ ।