जीतपुरसिमराको मेयर पदमा माओवादी केन्द्रबाट पौडेलको नाम सिफारिस

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नगर कमिटीको बैठकले हिज बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर सिफारिस गरेको हो ।

माओवादी केन्द्रका जीतपुरसिमरा उपमहानगरको नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिनुभएको छ । ‘नगरकमिटी बैठकमा सबैको सहमतिमा राजन पौडेलको एक्लो नाम सिफारिस गरेर जिल्ला र प्रदेशमा पठाईएको अध्यक्ष बरालले बताउनु भयो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मयर पदका लागि माओवादी केन्द्रको तर्फबाट १० जनाले दावी गरेका थिए । संविधानसभा सदस्य जयराम दहाल, केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ (अनिल), मधेस प्रदेश सदस्य गीता कंडेल, वडाध्यक्ष रामशरण बर्तौलासहित १० जनाले दाबी गर्दै आएका हुन । तर, अन्त्यमा अधिकांश नगरकमिटी सदस्यहरुले पौडेलको नाम सिफारिस हुनुपर्छ भनेर सुझाव दिएपछि उनको एक्लो नाम सिफारिस गरेर पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

पौडेलले २०७४ को निर्वाचनमा नगरप्रमुखमा ११ हजार २५१ मत ल्याएका थिए । २०७४ मा नगरप्रमुखमा पराजित भए पनि पौडेलले यो अवधिमा राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै उनलाई प्रमुखमा सिफारिस गर्न छलफलमा सहभागी ५८ जना नगरकमिटी सदस्यमध्ये ५७ जनाले सिफारिस गरेको श्रोतले जनाएको छ । माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल)ले भने राजन पौडेलसहित अन्य दाबेदारहरुको पनि नाम सिफारिस गरिएको बताएका छन् । ‘पौडेलजीको एक्लो नाम सिफारिस गएको भन्ने गलत हो, हामीले मसहित अन्य आकांक्षीको पनि नाम पठाएका छौं,’ जिल्ला अध्यक्ष श्रेष्ठले भने ।