हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै जीतपुरमा ५ घण्टा चक्काजाम

  • जीतपुर,२० जेठ

राकेशभक्त पौडेल हत्याको दोषी पत्ता लगाइ सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् । हत्याको २२ दिनभैसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितको स्थानीयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर बजारमा ५ घण्टा चक्काजाम गरेका हुन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरु स्वतस्फुर्त सडकमा उत्रिएका हुन् ।

घटनाको २२ दिनमा पर्स फेला

मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि शुक्रबार भेटिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सीमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ । पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेश भक्तको फोटो देखेपछि स्थानीय गाउँलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको थियो । पर्समा कागज पत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताउनुभयो ।

के थियो घटना?

प्रहरीका अनुसार गएको वैशाख ३० मा चित्रबहादुर केसीको घरमा जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियार प्रहारले घाउ लागेको थियो । हात र शरीरको अरु भागमा चोटपटक लागेको परिवारजनले बताएको छ । प्रहरीका अनुसार त्यसदिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागेको थियो ।

चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९ औं दिनमा सुरुमा बालिकालाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सातजनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाका अनुसार वडा ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा ३ का खगेन्द्र थापा (चित्रबहादुरका भतिज), सन्तोष खत्री (चित्रबहादुरका ज्वाईं), उद्धव अधिकारी, वडा २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नं. ६ कै युवकहरू सन्दीप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

मृतकका परिवारले हत्या नियोजित ढंगले भएकाले अनुसन्धान निष्पक्ष गरी न्याय दिन माग गरेका छन् । Source Sayapatri Online