जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको ५औं स्थापना दिवस, सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नमा जोड

  • जानकारी नेपाल, २० साउन ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो पाँचौँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले उद्योगमैत्री बाताबरण सिर्जना गर्नपर्छ भन्ने जोड दिईएको थियो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो प्रमुख अतिथि रहनु भएको थियो । मन्त्री महतोले विरुवामा पानी हालेर उद्घाटन गर्नुभएको कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, मधेश प्रदेशसभा सदस्य शोभा लामालगायत नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय पदाधिकारीहरु, वीरगञ्ज महानगरपािलकाका मेयर राजेशमान सिंह, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, पर्यटन अभियन्ता युवराज लामा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, उद्योग वाणिज्य महासँघका केन्द्र, प्रदेश, जिल्ला, तथा शाखा अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मोहन शर्मा लामिछानेको स्वागत भाषणपछि अक्षरा पाठशालाका छात्राहरुले राष्ट्रभक्ति र देशभक्ति भाव झल्काउने नृत्य प्रस्तुत गरेका थिए । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले आफ्नो पाँचौँ स्थापना दिवसको अवसर पारेर नयाँ कार्यसमितिको परिचय समेत गरायो ।

सो अवसरमा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन लामिछानेले संस्थामा आवद्ध उद्योगी तथा व्यवसायीहरुलाई लक्षित हितकोषको सुरुवात गरिने र आकस्मिक दुर्घटना विमा गरिने, व्यवसायिक उत्कृष्टता र सदस्यहरुको मनोवल उच्च बनाउन पुरस्कार सम्मानको व्यवस्था गरिने, विभिन्न उद्योग कलकारखानाहरु, कृषि उद्यम केन्द्र र साना तथा मझौला उद्योगहरुमा चाहिने दक्ष जनशक्ति निर्माण गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी तालिम र अन्तरक्रिया गर्ने, औधोगिक, पर्यटकीय, कृषि, खेलकुद हवको रुपमा विकास गरी लगानी सम्मेलन, एक्सपो, मार्ट, उद्योग, पर्यटन मेला महोत्सव आदिको आयोजना गर्ने, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने, सेजमा स्थापना तथा सञ्चालन हुने उद्योगहरुसँग समन्वय गर्ने, स्थानीयलाई रोजगारीका लागि पहल गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन नगर उद्योग वाणिज्य सँघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो भने संघका वाणिज्य उपाध्यक्ष गजेन्द्र गुप्ताले कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले तीनै तहको सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नमा महत्वपूणर् भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको पाँचौँ स्थापना दिवसको अवसरमा बाराको सिमरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतोले उद्योग स्थापना र सञ्चालन तीनै तहको सरकारसँग सम्बन्धित रहेकाले गम्भीर हुनुपर्ने आवश्यक्ता औल्याउँनुभयो । प्रदेश सरकारले वीरगञ्जमा उद्योग विभाग र पर्यटन बिकास कार्यालय खोल्न लागेको जानकारी दिनुभयो । मन्त्री स्तरीय निणर्यबाट वीरगञ्जमा यी कार्यालयहरु स्थापना हुन लागेको बताउँनुभयो ।