कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रचण्डको आग्रह

काठमाडौं, भदौ १७–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्।

बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्। प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०/८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन्। ५० सिट आफू राख्ने नियत उहाँको देखियो।’

बैठकमै कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरू ९० सिटभन्दा तल झर्न नसक्ने अडान राखेका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ८६ सिटमा राजी भएको कांग्रेस स्रोतको दाबी छ।