समानुपातिक मत अब डेढ लाख गन्न बाँकी, सात पार्टी राष्ट्रिय दल बन्ने सम्भावनामा

काठमाडौँ, मंसिर १७ गते ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अब सकिने चरणमा पुगेको छ। प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये अहिलेसम्म १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिउँसो १२ बजेतिर अब सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत गन्न बाँकी रहेको जानकारी दिए।

उनका अनुसार १ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको छ। जसमध्ये १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ।