काठमाडौं, फागुन १७ –
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आवश्यक सम्पूर्ण सुरक्षा तयारी सम्पन्न भइसकेको जानकारी दिनुभएको छ।
फागुन २१ गते निर्धारित निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न विभिन्न जिल्लामा पुगिरहनुभएका मन्त्री अर्यालले सरकार नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वच्छ, शान्तिपूर्ण र सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्न कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्नुभयो।
जिल्लाका सुरक्षा प्रमुखहरूसँग छलफलपछि मन्त्री अर्यालले निर्वाचन सुरक्षाको समग्र तयारी सन्तोषजनक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतलगायत सरोकारवाला निकायले सम्भावित चुनौतीको पूर्वआकलन गरी आवश्यक रणनीति अपनाइसकेका छन्। “सुरक्षा व्यवस्था मजबुत बनाइएको छ, ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो।
देशव्यापी रूपमा निर्वाचनको माहोल बनेको उल्लेख गर्दै मन्त्री अर्यालले उच्च जनसहभागितासहित शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन अवरोध गर्ने कुनै पनि प्रयासप्रति सरकार सतर्क रहेको भन्दै कानुनविपरीत गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनीसमेत दिनुभयो।
भ्रमणका क्रममा मन्त्री अर्यालसँग गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायत उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।




