सिमरा, बारा।
जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित सहरी विकासलाई प्राथमिकता दिँदै वडा नं. २ अन्तर्गत अतिक्रमण गरी राखिएका सामग्री तत्काल हटाउन सम्बन्धित पक्षलाई अन्तिम सूचना जारी गरेको छ। यो सूचना उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।
उपमहानगरपालिकाका अनुसार साविक पिपरा सिमरा गाउँ विकास समिति, साविक प्राथमिक स्वास्थ्य केन्द्र, साविक पशु सेवा केन्द्र, साविक कृषि सेवा केन्द्र, साविक कृषि बजार तथा सिमरा कलेज रोडको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका सार्वजनिक जग्गामा केही व्यक्तिले ठेला, गाडा, खटिया लगायतका सामग्री राखी व्यापार सञ्चालन गर्दै अतिक्रमण गरेको पाइएको छ।
यस अवस्थाले सार्वजनिक सम्पत्तिको संरक्षण, आवागमनको सहजता र भविष्यका पूर्वाधार विकासमा बाधा पुग्ने भएकाले उपमहानगरपालिकाले सम्बन्धित सबैलाई २०८३ असार १३ गते (शनिबार) भित्र स्वेच्छाले आफ्नो सामान हटाई स्थान खाली गर्न आग्रह गरेको छ।
उपमहानगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सामान जफत गरी अतिक्रमण हटाइने तथा त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट नै असुल गरिने स्पष्ट चेतावनी दिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने असार १४ गते (आइतबार) उपमहानगरपालिका आफैंले अतिक्रमण हटाउने, राखिएका सामान जफत गर्ने तथा त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट नै असुल गरिने स्पष्ट उल्लेख गरिएको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कानुनी व्यवस्थाको पालना गर्न र निर्धारित समयभित्र अतिक्रमण हटाई नगरलाई व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।






