पत्रकार सुरज बिक्रम थापामाथि धम्की, महासंघद्वारा कारबाहीको माग, थापाले पनि दिए उजुरी

बारा — बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको स्वकीय सचिव नियुक्तिसम्बन्धी  समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार सुरज बिक्रम थापामाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्की आएको आरोप सार्वजनिक भएको छ। घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले विरोध जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेको छ।

बाराको गतिविधिका पत्रकार थापाका अनुसार सांसद धिमालको स्वकीय सचिव नियुक्तिसम्बन्धी समाचार प्रकाशित गरेपछि उनलाई मेसेन्जरमार्फत गालीगलौजसहित धम्कीपूर्ण सन्देश पठाइएको थियो। घटनासँग सम्बन्धित मेसेन्जर संवाद तथा स्क्रिनसट सुरक्षित रहेको थापाले बताएका छन्।

धम्की तथा गालीगलौज गरेको आरोप हरिओम रौनियारमाथि लागेको छ। रौनियारलाई स्थानीयस्तरमा सांसद धिमालका सहयोगी तथा स्वकीय सचिवका आकांक्षीका रूपमा चिनिने गरिएको छ।

स्वकीय सचिव नियुक्तिका लागि आवेदन दिने समय सकिनुअघि नै प्रक्रिया अघि बढाउन खोजिएको विषयमा पत्रकार थापाले समाचार प्रकाशित गरेका थिए। समाचारपछि नियुक्ति प्रक्रिया रोकिएको र पछि प्रक्रिया सच्याइएको दाबी गरिएको छ।

घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले विरोध जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। महासंघले पत्रकारलाई समाचार लेखेकै आधारमा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।

यता पत्रकार थापाले पनि आफूलाई धम्की दिएको आरोप लागेका हरिओम रौनियारविरुद्ध कानुनी प्रक्रियामार्फत अघि बढेको बताएका छन्। उनले आफूसँग रहेका डिजिटल प्रमाण सम्बन्धित निकायमा पेश गर्ने जनाएका छन्।

घटनाबारे आरोपित हरिओम रौनियार र सांसद गणेश धिमालको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी छ।